ILLUMINATING HEALTH RESEARCH ISSN 0000-0000
विश्व मुटु दिवस २०२६: “Don't Miss a Beat “ - मुटुका मौन संकेतलाई बेवास्ता नगरौं

विश्व मुटु दिवस २०२६: “Don't Miss a Beat “ - मुटुका मौन संकेतलाई बेवास्ता नगरौं

विश्व हृदय महासंघका अनुसार, हृदय–रक्तवाहिनी रोगका कारण विश्वभर हरेक वर्ष २ करोडभन्दा बढी मानिसको मृत्यु हुन्छ, जसले यसलाई विश्वको सबैभन्दा ठूलो मृत्युको कारण बनाएको छ ।

A

Editorial staff

September 30, 2026

6 min read

सेप्टेम्बर २९, विश्व मुटु दिवसको सन्दर्भ

हरेक वर्ष सेप्टेम्बर २९ मा विश्वभर मनाइने विश्व मुटु दिवस यसपटक पनि विश्व हृदय महासंघ (World Heart Federation – WHF) ले सन् २०२५ मा सुरु गरेको “Don't Miss a Beat” अभियानको दोस्रो वर्षको रूपमा मनाइँदैछ । जुलाई २०२६ मा औपचारिक रूपमा सुरु गरिएको यस वर्षको अभियानले हृदय–रक्तवाहिनी रोग (Cardiovascular Disease –CVD) का लक्षणहरू प्रायः बेवास्ता, नहेरिएको (अनदेखा), वा बेखबर रहने तथ्यमा विश्वको ध्यान केन्द्रीत गर्न खोजेको छ । अभियानको मुख्य सन्देश छः “हृदय (मुटु) रोग प्रायः प्रस्ट रूपमा देखिँदैन, त्यसैले यसको एउटा पनि संकेतलाई नछुटाऔं ।”

किन यो विषय आजको आवश्यकता हो ?

विश्व हृदय महासंघका अनुसार, हृदय–रक्तवाहिनी रोगका कारण विश्वभर हरेक वर्ष २ करोडभन्दा बढी मानिसको मृत्यु हुन्छ, जसले यसलाई विश्वको सबैभन्दा ठूलो मृत्युको कारण बनाएको छ । चिन्ताको कुरा के हो भने, यीमध्ये धेरैजसो मृत्यु रोकथाम गर्न सकिने खालका हुन्छन् । महासंघकै अनुमानलाई गहन रुपमा मूल्यांकन गर्ने नै हो भने पनि लगभग ८०% हृदय सम्बन्धी मृत्यु त्यस्ता जोखिम कारकसँग जोडिएका हुन्छन् जसलाई यथोचित रुपमा रोक्न वा नियन्त्रण गर्न सहज रुपमा सकिन्छ नै । तर व्यवहारमा भने विश्वका २० भन्दा कम मुलुकसँग मात्र हृदय (मुटु) रक्तवाहिनी रोग सम्बोधन गर्ने छुट्टै राष्ट्रिय कार्ययोजना रहेको तथ्यले यस क्षेत्रमा नीतिगत कार्ययोजनाको अभावलाई अझ बढी सान्दर्भिक र गम्भीर बनाएको पाइन्छ । 

यस वर्षको अभियानले तीनवटा प्रमुख सन्देशमा विशेष जोड दिएको छः जुन लक्षण चिन्नु (See the signs), मुटुको सुरक्षा गर्नु (Protect your heart), र यसका लागि आवश्यक कदमको माग गर्नु (Demand action) रहेका छन् ।  यी तीनवटै सन्देश नेपालको सन्दर्भमा अझ बढी सान्दर्भिक देखिएका छन्, किनकि नेपालमा पनि गैरसंक्रामक रोगको भार क्रमशः बढ्दै गइरहेको छ विद्यमान अवस्था छ भने त्यसमा पनि हृदय (मुटु) सम्बन्धी रोग प्रमुख स्थानमा रहेको छ ।

किन धेरै संकेत छुट्न पुग्छन्?

हृदय रोगको सबैभन्दा खतरनाक पक्ष नै यसको “मौनता” हो । उच्च रक्तचापलाई प्रायः “मौन हत्यारा” भनिनुको कारण यसमा प्रायः कुनै स्पष्ट लक्षण नै देखिँदैन । कुनै पनि व्यक्तिलाई आफूलाई उच्च रक्तचाप भएको थाहै नहुन सक्छ, जबसम्म नियमित स्वास्थ्य परीक्षण गरिँदैन । त्यस्तै, उच्च कोलेस्ट्रोल र प्रारम्भिक चरणको मधुमेहले पनि वर्षौंसम्म कुनै प्रत्यक्ष संकेत नदेखाई शरीरभित्र गम्भीर क्षति पुर्याइरहेको हुन सक्दछ ।

अर्को महत्वपूर्ण पक्ष के हो भने, हृदयाघातका लक्षण सबैमा उस्तै प्रकारका देखिँदैनन् । सामान्यतया छातीमा गम्भीर दुखाइलाई नै हृदयाघातको मुख्य संकेत मानिन्छ, तर विशेष गरी महिलाहरूमा यो लक्षण कम स्पष्ट हुन सक्छ । बरु उनीहरूमा असजिलो महसुस हुनु, थकान बढी हुनु, सास फेर्न गाह्रो हुनु, वा जिउ भारी भए जस्तो वा मिचिए जस्तो हुनु, जस्ता खालका कम मात्रामा पहिचान हुने लक्षणहरु देखा पर्न सक्छन्, जसलाई प्रायः अन्य सामान्य समस्याको रूपमा बुझी पूर्ण रुपमा बेवास्ता समेत गरिदै आएको छ । जन्मजात हृदय रोग भएका युवाहरूमा पनि लक्षण ढिलो देखिन सक्छन्, जसका कारण उपचार प्रक्रियामा संलग्न हुन ढिलो भईरहेको हुन्छ ।

प्रमुख जोखिम कारकहरू

चिकित्सा विज्ञानले हृदय रक्तवाहिनी रोगका जोखिम कारकहरूलाई राम्ररी पहिचान गरिसकेको छ, र यीमध्ये धेरैजसो परिमार्जनयोग्य (modifiable) छन् :

  • उच्च रक्तचाप नै हृदयाघात र पक्षाघातको सबैभन्दा ठूलो एकल जोखिम कारक हो ।
  • उच्च कोलेस्ट्रोलले रक्तनलीमा बोसो जम्मा हुने प्रक्रिया (एथेरोस्क्लेरोसिस) लाई तीव्र बनाउँछ ।
  • मधुमेहका कारण रक्तनलीको भित्री तहलाई क्षति पुर्याउछ ।
  • धूम्रपान र सुर्ती सेवनले रक्तनलीलाई क्रमिक रुपमा साँघुरो बनाउँछ र रगत जम्ने प्रक्रियालाई असामान्य रुपमा बनाउँछ ।
  • शारीरिक निष्क्रियता कारण हृदयको मांसपेशी कमजोर बनाउँछ र तौल बढाउन सघाउँदछ ।
  • अस्वस्थकर आहारका कारण अत्याधिक नुन, बोसो, र प्रशोधित खाद्य पदार्थको सेवनमा बृद्धि हुँदै जान्छ । 
  • शरीरमा अत्याधिक मात्रामा मोटोपना देखा पर्नु । माथिका धेरै जोखिम कारकसँग यो मोटोपना प्रत्यक्ष रुपमा सम्बन्धित रहेको हुन्छ । 
  • पारिवारिक इतिहासले समेत यसलाई प्रशय दिईरहेको हुन्छ । यद्यपि यो परिमार्जन गर्न नसकिने कारक तत्व हो, तर यो यथा समयमा नै थाहा पाउनाले उचित समयमै सावधानी अपनाउन सघाउँछ । 
  • यी जोखिम कारकहरू एक्लै एक्लै भन्दा एकसाथ देखा पर्दा झन् बढी खतरनाक हुन्छन् । उदाहरणका लागि, उच्च रक्तचाप, मधुमेह, र धूम्रपान एकैसाथ भएको व्यक्तिमा हृदयाघातको जोखिम व्यक्तिगत जोखिम कारकको योगभन्दा धेरै गुणा बढी हुन्छ ।

मुटुको सुरक्षाका लागि प्रमाणमा आधारित उपायहरू

विश्व हृदय महासंघले “सानो तर निरन्तर परिवर्तन“ (small, consistent changes) मार्फत हृदय स्वास्थ्य सुधार्न सकिने कुरामा विशेष जोड दिएको छ । यस वर्ष महासंघले "Keep The Beat" पहल अन्तर्गत सेप्टेम्बर महिनाभर दैनिक कम्तीमा २० मिनेट शारीरिक चहलपहल गर्न वा सरल प्रकारका व्यायामहरुलाई निरन्तरता दिन सुझाव दिएको छ ।

नियमित शारीरिक क्रियाकलापः हप्तामा कम्तीमा १५० मिनेट मध्यम तीव्रताको शारीरिक क्रियाकलाप (जस्तै छिटो हिँड्ने, साइकल चलाउने) ले हृदय स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याउने प्रमाण पुष्टी भएको छ । यो शारीरिक क्रियाकलाप एकैचोटि नभई दिनभरि विभाजित गरेर गर्न पनि सकिन्छ ।

सन्तुलित आहारः हरियो सागसब्जी, फलफूल, सम्पूर्ण अन्न (whole grains), र स्वस्थ बोसो (जस्तै माछा, नट्स) मा आधारित आहारले हृदयलाई सुरक्षा दिन्छ । नुन र प्रशोधित खाद्य पदार्थको सेवन घटाउनु रक्तचाप नियन्त्रणका लागि विशेष महत्वपूर्ण मानिएको छ । त्यसैले यस पक्षलाई सबैले गम्भीर रुपमा मनन गरी सोही अनुरुपका सन्तुलित आहारलाई उच्च प्राथमिकतामा राख्नु नै पर्दछ ।  

धूम्रपान त्याग्नुः सबैभन्दा उत्तर उपाय भनेको नै धूम्रपान त्याग्नासाथ हृदय रक्तवाहिनी जोखिम घट्न सुरु गराउनु नै रहेको छ । यदि यो कार्यमा हामीले उपलबध हाँसिल गरेको अवस्थामा केही वर्षभित्रै यो जोखिम धूम्रपान नगर्ने व्यक्तिको नजिक सहज रुपमा पुग्न सकिन्छ । त्यसैले यो कार्यलाई आफ्नो लक्ष्यमा परिणत गर्न प्रण समेत गरौं । 

नियमित स्वास्थ्य जाँचः रक्तचाप, रक्त शर्करा, र कोलेस्ट्रोलको नियमित जाँचले मौन रूपमा बढिरहेको जोखिमलाई समयमै पत्ता लगाउन मद्दत गर्दछ । विशेष गरी ४० वर्षमाथिका, पारिवारिक इतिहास भएका, वा मोटोपना/मधुमेह भएका व्यक्तिका लागि यो जाँच अत्यन्तै महत्वपूर्ण रहेको छ । त्यसैले कृपया यसलाई आफ्नो दैनिकीको रुपमा अवलम्बन गरी सोही अनुरुपका क्रियाकलापलाई प्राथमिकतामा राखौं । 

तनाव व्यवस्थापन र पर्याप्त निद्राः सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यो २१ औं शताब्दीमा मानिसहरुमा अनेकौं प्रकारका तनावहरु सिर्जना भई नै रहेका हुन्छन् । त्यसका कारण हामीले आफ्नो शरीरलाई आवश्यक पर्ने निद्रालाई समेत पूर्णता दिन सकिरहेका हुँदैनौं । यो दीर्घकालीन तनाव र अपर्याप्त निद्राले पनि रक्तचाप र हृदयको समग्र स्वास्थ्यमा नकारात्मक असर पार्ने वैज्ञानिक प्रमाण बढ्दै गइरहेको विद्यमान अवस्था छ । त्यसैले यसलाई उच्च प्राथमिकतामा राख्दै सकेसम्म शरीरलाई शान्त, तनाव रहित र शरीर अनुसारको निद्रालाई नियमित रुपमा थप व्यवस्थित बनाउनु अत्यन्त आवश्यक छ । 

आपतकालीन अवस्थामा के गर्ने?

यसका लागि लक्षण चिन्नु मात्र पर्याप्त हुँदैन । त्यसपछि तुरुन्त सही कदम चाल्नु उत्तिकै महत्वपूर्ण हुन्छ । यदि कसैलाई छातीमा दुखाइ, सास फेर्न गाह्रो, बायाँ हात वा बङ्गाराबाट दुखाइ फैलिनु, अत्याधिक मात्रामा पसिना आउनु, वा अचानक कमजोरी महसुस हुनु जस्ता लक्षणहरु देखिएका छन् भने तत्कालै कुनै पनि समय खेर नफाली नजिकैको स्वास्थ्य संस्था वा आपतकालीन सेवामा तुरुन्त सम्पर्क गर्नुपर्दछ । हृदयाघातमा उपचार जति ढिलो हुन्छ, हृदयको मांसपेशीलाई त्यति नै बढी अपूरर्णीय क्षति पुग्न गएको हुन्छ । यसैले चिकित्सा विज्ञानमा “समय भनेको मांसपेशी हो“ (time is muscle) भन्ने सिद्धान्त प्रचलित छ । परिवारका सदस्य वा वरपरका व्यक्तिले आधारभूत CPR (कार्डियोपल्मोनरी रिसससिटेसन) बारे जानकारी राख्नु र नजिकैको आपतकालीन सेवाको वा स्वास्थ्य संस्थाको सम्पर्क नम्बर सधैं याद राख्नुले अचानक हृदय रोकिने (cardiac arrest) जस्तो गम्भीर अवस्थामा समेत ज्यान जोगाउन उल्लेख्य सहयोग पुर्याउन सक्दछ ।

नेपालको सन्दर्भमा यसको महत्व

नेपालमा सहरीकरण, आहार शैलीमा परिवर्तन, र गतिहीन जीवनशैली बढ्दै जाँदा हृदय रक्तवाहिनी रोगको भार पनि क्रमशः बढ्दै गइरहेको छ । तर स्वास्थ्य सेवाको पहुँच, विशेष गरी ग्रामीण क्षेत्रमा, अझै पनि सीमित हुन पुगेकाले धेरै मानिसहरुलाई आफूमा उच्च रक्तचाप वा उच्च कोलेस्ट्रोल भएको थाहै हुँदैन । यसैले “लक्षण चिन्नु“ भन्ने यस वर्षको अभियानको सन्देश नेपालका लागि विशेष रूपमा सान्दर्भिक छ किनकि समयमै स्वास्थ्य परीक्षण र लक्षण पहिचानलेनै धेरै अनावश्यक मृत्युलाई सहज रुपमा रोक्न सकिन्छ । साथै, अभियानको तेस्रो सन्देश भनेको “कदमको माग गर्नु“ ले नीति तहमा पनि ध्यान दिनुपर्ने आवश्यकतालाई औंल्याउँदछ, जस्तै स्वास्थ्य संस्थामा आधारभूत रक्तचाप र रक्त शर्करा (रगतमा चिनीको मात्रा जाँच गर्नु) जाँचको पहुँच विस्तार गर्नु, गैरसंक्रामक रोग रोकथाम कार्यक्रमलाई स्थानीय तहसम्म पु¥याउनु, र नुन तथा प्रशोधित खाद्य पदार्थको सेवन घटाउने लगायतका जनचेतनामूलक कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गर्नु अत्यन्त आवश्यक छ । 

निष्कर्ष

विश्व मुटु दिवस २०२६ को “Don't Miss a Beat" सन्देशले हामीलाई एउटा सरल तर अत्यन्तै महत्वपूर्ण सत्य वा यथार्थतालाई सम्झाउँछ जुन हृदय रोग प्रायः चिच्याएर आउँदैन, बरु मौन रूपमा शरीरभित्र विकसित हुन्छ । यसैले रक्तचाप, कोलेस्ट्रोल, र रक्त शर्करा (रगतमा चिनीको मात्रा) को नियमित जाँच, स्वस्थ आहार, नियमित शारीरिक क्रियाकलाप, र धूम्रपानबाट टाढा रहनु नै हो । यी साना तर निरन्तर रुपमा बसाल्ने बानीहरूले नै दीर्घकालमा ठूलो फरक पार्न सक्छन् । हृदय (जनबोलीमा यसलाई मुटु भनिन्छ) ले हाम्रो जीवनभर विना विश्राम नियमित रुपमा काम गरिरहेको हुन्छ; यसका मौन संकेतलाई समयमै चिन्नु र त्यसमा ध्यान दिनु नै यसप्रतिको सबैभन्दा ठूलो र महत्वपूर्ण जिम्मेवार व्यवहार नै हो ।

Cite this article

Share:

Comments

Required for comment verification