'आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ' विश्व दृष्टि दिवस २०२६ र आँखा स्वास्थ्यको गहिरो विश्लेषण
नेपालले RAAB डेटाको आधारमा प्रादेशिक योजना बनाउनुपर्छ । प्राथमिक स्वास्थ्य चौकीहरूमा आँखा परीक्षण एकीकृत गर्ने, विद्यालयमा अनिवार्य स्क्रिनिङ, कार्यस्थलमा "Love Your Eyes at Work" कार्यक्रम, र सस्तो चश्मा वितरणलाई तीव्रता दिनुपर्छ ।
८ अक्टोबर २०२६ (अक्टोबरको दोस्रो बिहीबार), विश्वभर ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ , (Love Your Eyes) नाराका साथ विश्व दृष्टि दिवस मनाइयो । अन्तर्राष्ट्रिय अन्धोपन निवारण एजेन्सी इन्टरनेसनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (IAPB) को नेतृत्वमा चल्दै आएको यो अभियान यस वर्ष विशेष रूपमा व्यक्तिगत अनुभव, सामुदायिक क्रियाकलाप र पहुँचयोग्य आँखा सेवाको मागमा केन्द्रित रहेको छ । पाँच वर्षदेखि चल्दै आएको यो अभियानले करोडौं प्रतिज्ञा संकलन गरिसकेको छ ।
विश्वभरका १ अर्बभन्दा बढी मानिसहरूमा रहेको, रोकथाम गर्न सकिने अन्धोपन र दृष्टिसम्बन्धी समस्याहरूलाई समाधान गर्ने उद्देश्यका साथ इतिहासमै पहिलो पटक यस्तो प्रकारको विश्वव्यापी राजनीतिक तथा आर्थिक केन्द्रित सम्मेलन आगामी नोभेम्बर २ मा एन्टिगुवा र बारबुडामा हुने पहिलो ग्लोबल समिट फर आई हेल्थको आयोजना हुन गईरहेको छ । यो शिखर सम्मेलन एन्टिगुवा र बारबुडा सरकारको नेतृत्वमा, विश्व स्वास्थ्य संगठन (WHO) को प्राविधिक सहकार्य र, इन्टरनेसनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (IAPB) को सहयोगमा आयोजना हुन लागेको हो । यो सम्मेलनलाई थप राजनीतिक प्रभाव र क्षेत्रीय प्रतिनिधित्व प्रदान गर्न बंगलादेश, गुयाना र नाइजेरिया सह आयोजकका रूपमा जोडिएका छन् । यस सम्मेलनका मुख्य स्तम्भहरु (Pillars): Act (कार्य गर्ने), Allocate (बजेट/स्रोत छुट्याउने), र Accelerate (गति दिने) भन्ने तीनवटा मुख्य स्तम्भहरुमा केन्द्रीत हुनेछ । त्यसका साथै यस सम्मेलनको मुख्य जोड आँखाको स्वास्थ्य केवल एक चिकित्सा क्षेत्र मात्र नभई यो देशको आर्थिक र सामाजिक विकासको मुख्य कडी हो भन्ने बुझाउनु पनि रहेको छ । विभिन्न खोज तथा अनुसन्धानमूलक अध्ययनका अनुसार, रोकथाम गर्न सकिने दृष्टिसम्बन्धी समस्या समाधान गरेमा विश्व अर्थतन्त्रमा वार्षिक ४४७ बिलियन अमेरिकी डलर बराबरको योगदान पुग्ने अपेक्षा समेत गरिएको छ ।
नेपालमा पनि विविध कार्यक्रमसहित यो दिवसलाई भव्यताका साथ मनाइँदैछ । नाराले व्यक्तिलाई नियमित आँखा परीक्षण र हेरचाह गर्न प्रेरित गर्दै सरकार तथा सरोकारवालाहरूलाई सबैका लागि सर्वसुलभ, गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ । विद्यालय, कार्यस्थल र नीति निर्माणका स्थानहरूमा परीक्षण तथा जनचेतना विस्तारमा विशेष जोड दिइएको छ ।
नेपालको प्रगति र बाँकी चुनौती
सन् १९८१ मा नेपालमा अन्धोपनको प्रचलन ०.८४ प्रतिशत रहेको थियो। २०१८–२०२१ को राष्ट्रिय Rapid Assessment of Avoidable Blindness (RAAB) सर्वेक्षण अनुसार ५० वर्ष माथिका जनसंख्यामा अन्धोपनको दर १.१ प्रतिशत रहेको छ भने सबै उमेर समूहको लागि यो करिब ०.२८ प्रतिशतमा झरेको छ । यसमो मुख्य कारण मोतीबिन्दु (क्याटार्याक्ट) नै रहँदै आएको छ (लगभग ६५ प्रतिशत अन्धोपन), त्यसपछि कर्नियल अपासिटी, ग्लुकोमा र उमेरजन्य म्याक्युलर डिजेनेरेसन रहेका छन् । विशेष गरी महिलाहरूमा पुरुषको तुलनामा अन्धोपनको दर उल्लेखनीय रूपमा उच्च रहेको तथ्यले लैंगिक असमानतालाई स्पष्ट पार्दछ । यसैगरी प्रादेशिक असमानता पनि प्रस्ट देखिएको छ जसमा लुम्बिनी प्रदेशमा अन्धोपनको दर सबैभन्दा उच्च रहेको छ भने बागमती र सुदूरपश्चिम प्रदेशमा तुलनात्मक रूपमा कम रहेको छ । यसले प्रादेशिक प्राथमिकता र स्रोत विनियोजनमा थप लक्षित नीति आवश्यक रहेको संकेत गर्दछ ।
यद्यपि अन्धोपनको दर घटेको उपलब्धि सकारात्मक छ, यसको अर्थ आँखा स्वास्थ्यका सबै समस्या समाधान भएका छन् भन्ने होइन । दृष्टिहीनताका हल्का तथा मध्यम रूपहरू, अपरिवर्तित अपवर्तक त्रुटि (रिफ्र्याक्टिभ एरर), बढ्दो मायोपियाको महामारी, डायबेटिक रेटिनोप्याथी, ग्लुकोमाको ढिलो पहिचान तथा ग्रामीण र सीमान्तकृत समुदायमा सेवाको पहुँच अभाव जस्ता चुनौतीहरू अझै गम्भीर रूपमा विद्यमान रहेका छन् । विश्वव्यापी रूपमा करिब १.१ अर्ब मानिस दृष्टि दोषबाट प्रभावित छन् र तीमध्ये ९० प्रतिशतभन्दा बढी अवस्था रोक्न वा उपचार गर्न सकिने प्रकृतिका छन् । यसले नेपालमा पनि एकीकृत, पहुँचयोग्य र गुणस्तरीय आँखा स्वास्थ्य सेवा विस्तारको आवश्यकतालाई थप जोड दिएको छ ।
विश्वमा चर्चित विधि, प्रक्रिया र नवाचार
विश्व स्वास्थ्य संगठन (WHO) ले Integrated People Centred Eye Care (IPEC) लाई मुख्य रणनीतिका रूपमा अघि बढाएको छ । यसले आँखा सेवालाई प्राथमिक स्वास्थ्य प्रणालीमा एकीकृत गर्ने, व्यक्ति केन्द्रित सेवा दिने र सार्वभौम स्वास्थ्य कभरेजसँग जोड्ने लक्ष्य राखेको छ । WHO को SPECS २०३० पहलले अपवर्तक त्रुटिको प्रभावकारी कभरेज ४० प्रतिशत बिन्दु बढाउनका लागि सेवा, जनशक्ति, शिक्षा, लागत घटाउने र निगरानीमा जस्ता लक्ष्यमा विशेष जोड दिएको छ ।
चिकित्सा शिक्षा र सेवामा अपनाइएका मुख्य विधिहरूः
विद्यालय र समुदायमा आधारित स्क्रिनिङः धेरै देशहरूमा विद्यालय स्वास्थ्य कार्यक्रममार्फत नियमित दृष्टि परीक्षण अनिवार्य बनाइएको छ । मायोपिया नियन्त्रणका लागि दैनिक दुई घण्टा बाहिरी क्रियाकलाप सिफारिस गरिन्छ ।
मायोपिया नियन्त्रण प्रविधिः Defocus Incorporated Multiple Segment (DIMS) र Highly Aspherical Lenslet (HAL) चश्मा, अर्थोकेराटोलोजी, मल्टिफोकल कन्ट्याक्ट लेन्स र रिपीटेड लो–लेभल रेड लाइट (RLRL) थेरापीले अक्षीय लम्बाई वृद्धि र मायोपिया प्रगतिको दर ३०-५० प्रतिशतसम्म घटाउन सक्ने प्रमाणित भएका छन् ।
टेलिओफ्थाल्मोलोजी र एआईः ग्रामीण क्षेत्रमा स्मार्टफोन आधारित फन्डस फोटोग्राफी, एआई-समर्थित रेटिनल स्क्रिनिङ र टेलिमेडिसिनले विशेषज्ञ सेवाको पहुँच बढाएको छ ।
उन्नत उपचारः रेटिनल रोगका लागि जीन थेरापी, अप्टोजेनेटिक्स र नयाँ एन्टी (VEGF) भन्दा अगाडिका थेरापीहरू विकास भइरहेका छन् । ड्राई आई र प्रणालीगत रोगका लागि आँसु नलीमा बायोसेन्सर र क्लोज्ड-लूप ड्रग डेलिभरी जस्ता नवाचार पनि आउँदैछन् ।
जलवायु लचिलो र लैंगिक उत्तरदायी सेवाः जलवायु परिवर्तनले आँखा स्वास्थ्यमा पार्ने प्रभावलाई ध्यानमा राख्दै लचिलो प्रणाली निर्माण, महिला र अपांगता भएका व्यक्तिहरूको पहुँच सुनिश्चित गर्ने गाइडलाइनहरू जारी गरिएका छन् ।
लगानी र आर्थिक लाभः आँखा स्वास्थ्यमा लगानीको प्रतिफल अत्यन्त उच्च छ । कम र मध्यम आय भएका देशहरूमा ७ अर्ब डलर लगानीले १९९ अर्ब डलर आर्थिक लाभ दिन सक्ने अनुमान छ (१:२८ को अनुपात) ।
यी विधिहरू चिकित्सा शिक्षामा पनि समावेश हुँदैछन् । विद्यार्थी र स्वास्थ्यकर्मीलाई प्राथमिक स्तरमै आँखा परीक्षण, मायोपिया व्यवस्थापन र इन्टिग्रेटेड केयर सिकाउने पाठ्यक्रम समेत्र क्रमिक रुपमा विस्तार भइरहेको छ ।
नेपालका लागि विशिष्ट सिफारिस र अज्ना हेल्थलेन्सको दृष्टिकोण
नेपालले RAAB डेटाको आधारमा प्रादेशिक योजना बनाउनुपर्छ । प्राथमिक स्वास्थ्य चौकीहरूमा आँखा परीक्षण एकीकृत गर्ने, विद्यालयमा अनिवार्य स्क्रिनिङ, कार्यस्थलमा "Love Your Eyes at Work" कार्यक्रम, र सस्तो चश्मा वितरणलाई तीव्रता दिनुपर्छ । मोतीबिन्दु शल्यक्रियाको गुणस्तर र कभरेज बढाउनुका साथै ग्लुकोमा र डायबेटिक रेटिनोप्याथीको नियमित निगरानी आवश्यक छ ।
व्यक्तिगत स्तरमाः नियमित आँखा परीक्षण (विशेष गरी ४० वर्षपछि वा मधुमेह/उच्च रक्तचाप भएमा), पर्याप्त बाहिरी समय, डिजिटल स्क्रिनको सन्तुलित प्रयोग, पौष्टिक आहार र सुरक्षात्मक चश्मा अपनाउनुपर्छ ।
अज्ना हेल्थलेन्सको यो लेखले स्पष्ट पार्छ की अन्धोपन घटेको उपलब्धि उत्साहजनक छ, तर दृष्टि संरक्षण केवल अस्पतालको कुरा होइन । यो व्यक्तिगत जिम्मेवारी, सामुदायिक सहभागिता र नीतिगत प्रतिबद्धताको मिश्रण हो । आजको दिनले हामीलाई सम्झाउँछः आँखालाई माया गर्नु भनेको दृष्टिको रक्षा गर्नु हो र दृष्टिको रक्षा गर्नु भनेको जीवनको गुणस्तर, शिक्षा, उत्पादकत्व र मानव मर्यादाको रक्षा गर्नु हो ।
सबैले आजै आफ्नो आँखा परीक्षण गराऔं, अरूलाई पनि प्रेरित गरौं र सरकारलाई गुणस्तरीय सेवाको माग गरौं । Love Your Eyes किनकि हरेक कथा महत्वपूर्ण छ र हरेक दृष्टि अमूल्य छ ।
Comments